खाद्य स्वच्छता र प्रविधि प्रयोगबारे रामपुरमा अन्तरक्रिया सम्पन्न

बोली खबर   २०८३-०१-०९

पाल्पा, रामपुर — खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको आयोजनामा खाद्य स्वच्छता सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रामपुर उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न भएको हो।डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगी, व्यापारी, व्यवसायी तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा उपभोक्ताले तिर्नुपर्ने कर, प्रविधिको विकाससँगै अनलाइन माध्यमबाट राजस्व भुक्तानी गर्ने प्रक्रिया, खाद्य वस्तुमा अनिवार्य रूपमा लेबल राख्ने व्यवस्था लगायतका विषयमा सहभागीलाई जानकारी तथा सीप प्रदान गरिएको थियो।रामपुर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न अभिमुखीकरणसहितको अन्तरक्रिया कार्यक्रममा खाद्य स्वच्छताको महत्व, यसको सिद्धान्त, तथा सम्बन्धित कानुनी प्रावधानबारे समेत विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै प्रमुख श्रेष्ठले खाद्य सुरक्षामा सबै पक्षको जिम्मेवारी महत्वपूर्ण रहेको बताउनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो। उहाँले घरमै बसेर अनलाइनमार्फत राजस्व तिर्न सकिने व्यवस्था उपयोग गर्न उद्योगी–व्यवसायीलाई सुझाव दिए र व्यवसायलाई स्वच्छ तथा व्यवस्थित बनाउनु पर्ने आवश्यकता औंल्याउनु भएको छ ।नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको छ।

रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव खिम बहादुर केसीले गर्नु भएको हो ।