रामपुर नगरपालिका वडा नं. ४ मा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

  २०८३-०६-२७


रामपुर नगरपालिका वडा नं. ४ मा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

रामपुर, पाल्पा — रामपुर नगरपालिका वडा नं. ४ को आयोजनामा विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। २०८३ असोज २७ गते सम्पन्न कार्यक्रम वडा नं. ४ का वडाध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा आयोजना गरिएको हो।


वडा सदस्य महम्मद ताजिम सेखको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सदस्य मोहन सिं रानाले गर्नुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै वडाध्यक्ष राम बहादुर रानाले नेपाली समाज परम्परादेखि नै आपसी भाइचारा, सद्भाव, सहिष्णुता र एकताले भरिपूर्ण रहेको बताउनुभयो। उहाँले नजिकिँदै गरेका विजयादशमी, दीपावली तथा छठ पर्वलाई आपसी प्रेम, सद्भाव र मेलमिलापका साथ मनाउन आग्रह गर्नुभयो। साथै, चाडपर्वको खुसी सबैसँग बाँड्दै दिनदुःखी, असहाय तथा विपन्न व्यक्तिहरूलाई सहयोग गर्न र समाजमा धार्मिक सहिष्णुता तथा सामाजिक एकता कायम राख्न सबैलाई अनुरोध गर्नुभयो।


कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं. ४ का सभापति टेक बहादुर क्षेत्री, वडा स्तरीय महिला सञ्जालकी अध्यक्ष सुमन खाम्चा मगर, नेपाली कांग्रेस वडा नं. ४ का सभापति धन बहादुर श्रेष्ठ, नेकपा एमाले वडा नं. ४ का उपाध्यक्ष ओम नारायण श्रेष्ठ, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहम्मद दिन मिया तथा एमसीए नेपाल परियोजनाअन्तर्गत सञ्चालित सिलाइकटाइ तालिमकी अध्यक्ष सन्तोषी थापा मगर ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।


त्यसैगरी रेउतीपोखरा टोल विकास संस्थाका अध्यक्ष विमल श्रेष्ठ, गोदाम चौतारी टोल विकास संस्थाका अध्यक्ष मोहन थापा, आदर्श भूतपूर्व सैनिक संस्थाका वरिष्ठ उपाध्यक्ष हेम नारायण श्रेष्ठ, श्री जनहित बौद्ध बिहार टोल विकास संस्थाकी अध्यक्ष सन्जु परियार, बरडाँडा केबुनाघारी आमा समूहकी अध्यक्ष अनिता राना, संगम समाज टोल विकास संस्थाका अध्यक्ष विष्णु सेन ठकुरी, स्लामपुर टोल विकास संस्थाकी अध्यक्ष सायबा बेगम तथा भीमसेन टोल र बाङ्गेपसल टोल विकास संस्थाकी कोषाध्यक्ष सीता प्रधानले समेत पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो।


शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले नेपाली समाजको मौलिक संस्कृति, परम्परा र धार्मिक विविधताको संरक्षण गर्दै सबै जातजाति, धर्म, समुदाय तथा वर्गबीच आपसी सम्मान, सद्भाव र सहकार्य कायम राख्नुपर्नेमा जोड दिएका थिए। यस्ता कार्यक्रमले जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्था तथा स्थानीय नागरिकबीच आपसी सम्बन्ध सुमधुर बनाउनुका साथै सामाजिक एकता र सहकार्यको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिएको थियो।
विजयादशमी, शुभ दीपावली तथा छठ पर्वले सम्पूर्ण नगरवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र आपसी सद्भाव कायम गरोस् भन्ने शुभकामनासहित कार्यक्रम सम्पन्न भएको थियो।