रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

  २०८३-०७-१५

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

रामपुर, पाल्पा। रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नेतृत्व विकास तालिम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा होटल नमस्ते पाल्पामा आयोजित तालिममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले सहकारीको सात सिद्धान्त, सहअस्तित्व, सहकार्य र सामूहिक उत्तरदायित्वको महत्त्वमाथि प्रकाश पार्नुभयो। सहकारी संस्था केवल आर्थिक कारोबार गर्ने माध्यम मात्र नभई सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको साझा आधार भएको उल्लेख गर्दै उहाँले सहकारीको वास्तविक शक्ति सदस्यबीचको विश्वास, एकता र पारस्परिक सहयोगमा निहित रहने बताउनुभयो। सहकारीको नेतृत्व पद र अधिकार प्राप्त गर्ने माध्यम नभई सदस्य तथा संस्थाप्रति उत्तरदायी भएर काम गर्ने जिम्मेवारी भएको उहाँको भनाइ थियो।

तालिमको सहजीकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का वरिष्ठ अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो। उहाँले ‘परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्छ’ भन्ने अवधारणाबाट तालिमको सुरुवात गर्दै नेतृत्व विकास, नेतृत्वकर्ताको भूमिका, जिम्मेवारी र अबको सहकारी नेतृत्वमा हुनुपर्ने गुण तथा क्षमताका विषयमा सहजीकरण गर्नुभएको थियो।

अधिकारीले सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ तथा पछिल्लो समय संशोधित कानुनी व्यवस्था र सहकारी नियमन प्राधिकरणको भूमिका, अधिकार र जिम्मेवारीबारे सहभागीलाई जानकारी गराउनुभयो। सहकारी क्षेत्रमा विकसित हुँदै गएका कानुनी तथा नीतिगत व्यवस्थाको पालना, सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र जवाफदेहितालाई नेतृत्वले प्राथमिकतामा राख्नुपर्ने उहाँको जोड थियो। साथै, बदलिँदो सहकारी परिवेशमा नेतृत्वकर्ताले समयानुकूल ज्ञान, सीप, सकारात्मक सोच र निर्णय क्षमता विकास गर्नुपर्ने विषयमा समेत उहाँले प्रकाश पार्नुभयो।

संस्थाका उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थापक नेतृत्वदेखि वर्तमान सञ्चालक समिति, उपसमिति तथा भविष्यमा सहकारी नेतृत्वको जिम्मेवारी लिन इच्छुक व्यक्तिहरूको सहभागिता रहेको थियो। करिब ७५ जनाको सहभागिता रहेको तालिमले सहकारीको नेतृत्व क्षमता अभिवृद्धि, संस्थागत सुशासन र जिम्मेवार नेतृत्व निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

संस्थाले ‘गुणस्तरीय सेवासहितको दिगो वित्तीय सहकारी’ भन्ने मूल नारालाई आत्मसात् गर्दै संस्थाको नेतृत्व पदले होइन, अधिकारले होइन, उत्तरदायित्वले प्रमाणित गर्छ भन्ने मान्यतालाई तालिममार्फत जोड दिएको थियो।

करिब ५ हजार सदस्य रहेको रामपुर बचत तथा ऋण सहकारी संस्थाले ७५ करोड रुपैयाँभन्दा बढीको वित्तीय कारोबार गर्दै आएको छ। संस्थाको शेयर पुँजी ५ करोड ९४ लाख रुपैयाँ रहेको छ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव कीर्तिनाथ श्रेष्ठले गर्नुभएको थियो भने धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन संस्थाका कोषाध्यक्ष बन्दना पोखरेलले गर्नुभएको थियो।