रामपुर (पाल्पा), कात्तिक १५ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो पुस्तामा सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यता कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । आमाबुबाबाट प्राप्त हुने संस्कार र संस्कृतिको सट्टा मोबाइल तथा सामाजिक सञ्जालबाट बालबालिकाको चरित्र निर्माण हुन थालेको भन्दै उहाँले यसले समाजको भविष्यप्रति गम्भीर प्रश्न खडा गरेको बताउनुभयो ।
संविधानसभा सदस्य एवं नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलकी आमा स्वर्गीय रेवकुमारी कँडेलको स्मृतिमा रामपुर नगरपालिका–३, रजघरामा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्तालाई परिवार, समाज र मौलिक सांस्कृतिक मूल्य–मान्यतासँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “आज आमाहरूले हुर्काएका छोराछोरीभन्दा मोबाइलले हुर्काएका छोराछोरीहरूको चरित्र निर्माण हुँदैछ ।” बालबालिका रुँदा मोबाइलमा भिडियो देखाएर फकाउने प्रवृत्तिले परिवारबाट नयाँ पुस्तामा संस्कार हस्तान्तरण हुने प्रक्रिया कमजोर बनाउँदै लगेको उहाँको भनाइ थियो । सूचना प्रविधिमा अगाडि रहेका मुलुकहरूले समेत कम उमेरका बालबालिकालाई मोबाइल प्रयोगमा नियन्त्रण गर्ने गरेको उल्लेख गर्दै उहाँले बालबालिकालाई प्रविधिसँगै शिक्षा, संस्कार र पारिवारिक वातावरणमा हुर्काउनुपर्ने बताउनुभयो ।
“हामी हाम्रो ऐतिहासिक सामाजिक तथा सांस्कृतिक मूल्यलाई छोडेर सामाजिक सञ्जालको संस्कृतितर्फ अगाडि बढ्न खोजिरहेका छौँ, त्यसलाई बदल्नुपर्दछ,” उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले अग्रज पुस्ताले गरेको संघर्ष, त्याग र योगदानलाई नयाँ पुस्ताले बुझ्न र सम्मान गर्नुपर्ने धारणा राख्नुभयो । गाउँघरमा आज देखिने सडक, स्वास्थ्य संस्था, यातायातलगायतका पूर्वाधार निर्माणमा विगतका पुस्ताले गरेको मेहनत र संघर्षलाई बिर्सिएर पुराना पुस्ताले केही गरेनन् भन्ने भाष्य निर्माण हुनु गलत भएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “आजभोलिका पुस्तालाई गाउँघरमा बनेका बाटोघाटो पनि आफैँ बनेको जस्तो लाग्दछ । पुरानाहरूले त केही गरेनन्, यो मुलुकमा केही पनि भएको छैन भन्ने धारणा निर्माण गरी नयाँ पुस्तालाई विद्रोही बनाउने प्रयास भएको छ ।”
राज्यका संरचना र सार्वजनिक सम्पत्तिमाथिको विनाशलाई गौरवका रूपमा लिने प्रवृत्तिप्रति पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । “राज्यका धरोहरहरू जल्दाखेरि गर्व गर्ने पुस्ता निर्माण हुनु हाम्रो संस्कार र संस्कृति होइन,” उहाँले भन्नुभयो, “हाम्रो संस्कार र संस्कृति भनेको गौतम बुद्धले हुर्काएको क्षमा र करुणाको संस्कार हो ।”
अग्रज आमाहरूले सडक, यातायात र स्वास्थ्य सेवाजस्ता आधारभूत सुविधा सहज नभएको समयमा पनि अनेकौँ कठिनाइ र संघर्षका बीच सन्तान हुर्काएको स्मरण गर्दै उहाँले त्यस्तो पुस्ताको योगदान र त्यागलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
सभामा नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य छविलाल विश्वकर्माले पनि स्वर्गीय रेवकुमारी कँडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको थियो ।
नेकपा (एमाले) जिल्ला कमिटी पाल्पाको आयोजनामा भएको श्रद्धाञ्जली सभाको अध्यक्षता जिल्ला कमिटी अध्यक्ष ओम घर्तीले गर्नुभएको थियो भने सञ्चालन जिल्ला कमिटी सचिव रामजी पोखरेलले गर्नुभएको थियो । सभामा नेकपा (एमाले) का केन्द्रीय, प्रदेश, जिल्ला तथा वडा तहका नेता–कार्यकर्ता र स्थानीयको सहभागिता रहेको थियो ।
संविधानसभा सदस्य एवं नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलकी आमा रेवकुमारी कँडेलको गत कात्तिक ७ गते ८९ वर्षको उमेरमा निधन भएको थियो ।



