आदिवासी जनजाति महिलाका परम्परागत ज्ञान र सीप प्रवर्द्धनका लागि २ दिने अभिमुखीकरण सम्पन्न

बाेलीखबर   २०८३-०२-३१

पाल्पा । आदिवासी जनजाति महिलाहरूमा रहेका परम्परागत ज्ञान, सीप र उद्यमशीलताको पहिचान, संरक्षण, प्रवर्द्धन तथा बजारीकरणमार्फत आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले आयोजित दुई दिने अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

रैयाँ नेपालको आयोजनामा रम्भा गाउँपालिका–२ स्थित सामुदायिक रानीबास होमस्टेमा २०८३ जेठ २९ र ३० गते कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा रामपुर नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका तथा पूर्वखोला गाउँपालिकाका ३७ वडाबाट आएका आदिवासी जनजाति समुदायका परम्परागत सीपमा आधारित महिला उद्यमी, महिला जनप्रतिनिधि तथा पालिका उपाध्यक्षहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा ९५ जना आदिवासी जनजाति महिलाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको मुख्य उद्देश्य परम्परागत ज्ञान र सीपलाई पुस्तान्तरण गर्दै त्यसको संरक्षण, प्रवर्द्धन तथा व्यावसायीकरणमार्फत महिलाको आयआर्जन बढाउनु रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सन्दीप राना ले अभिमुखीकरणपछि आदिवासी जनजाति महिलाहरू आत्मनिर्भर बन्न आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय तहमा महिलाहरूले आफ्नो हकअधिकारका लागि सक्रिय रूपमा लाग्नुपर्ने उल्लेख गर्दै स्थानीय उत्पादन, परम्परागत सीप र ज्ञानलाई व्यवहारमा उतार्न सके आर्थिक रूपमा थप सबल बन्न सकिने धारणा राख्नुभयो। साथै यस खालकाे कार्यक्रमले आदिवासी जनजाति समुदायमा रहेको मौलिक ज्ञान, सीप र संस्कृतिको संरक्षणसँगै महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापा, पूर्वखोला गाउँपालिकाकी उपाध्यक्ष भागीरथी भट्टराई, रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य भविसरा सारू, मगराज जोङका अध्यक्ष दीपक कामु तथा रम्भा–२ का वडा अध्यक्ष तेजबहादुर सुनारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन रैयाँ नेपालका वित्तीय प्रमुख कृष्णा वंशी ले गर्नुभएको थियो।