पाल्पा। रामपुर नगरपालिका–५ नं. वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजना, कार्यक्रम तथा विकास गतिविधिको समीक्षा गर्दै आगामी आर्थिक वर्षका प्राथमिकता तय गर्ने उद्देश्यले सरोकारवालासँग वार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
वडाभित्रका राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, महिला, युवा, पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागितामा आयोजित कार्यक्रममा वडा अध्यक्ष दुर्गाप्रसाद पोखरेलले आर्थिक वर्षभरि सम्पन्न भएका विकास निर्माणका काम, पूर्वाधार विस्तार, सेवा प्रवाह तथा वडाले हासिल गरेका उपलब्धिबारे जानकारी गराउनुभयो।

उहाँले अधिकांश सडकको स्तरोन्नति सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी रहेका सडकलाई आगामी आर्थिक वर्षमा प्राथमिकताका साथ स्तरोन्नति गरिने बताउनुभयो। विकास निर्माण निरन्तर चलिरहने प्रक्रिया भएकाले उपलब्ध स्रोत र स्थानीय आवश्यकताका आधारमा योजनाहरू क्रमिक रूपमा कार्यान्वयन गरिने उहाँको भनाइ थियो।
बेझाँड बजार क्षेत्रको सडक निर्माणको ठेक्का सम्झौताको अवधि आगामी मंसिरसम्म रहेकाले निर्धारित समयभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै वडा अध्यक्ष पोखरेलले निर्माण व्यवसायीसँग वडा कार्यालयले निरन्तर समन्वय र सहजीकरण गरिरहेको जानकारी दिनुभयो। उहाँले नागरिकलाई धैर्यता अपनाउन पनि आग्रह गर्नुभयो।
कार्यक्रममा भू–वर्गीकरण सम्बन्धी विषयमा विशेष छलफल भएको थियो। भू–वर्गीकरणमा त्रुटि भएका जग्गाधनीलाई चार दिनभित्र लालपूर्जासहित वडा कार्यालयमा निवेदन दिन आग्रह गर्दै प्राप्त निवेदनका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने वडा अध्यक्ष पोखरेलले जानकारी दिनुभयो।

उहाँले चालु आर्थिक वर्षको बजेट, सञ्चालन भएका कार्यक्रम तथा आगामी योजनाबारे जानकारी गराउँदै रामघाटमा शवदाह स्थल निर्माणलाई स्थानीय सहभागितामूलक अभियानका रूपमा अघि बढाइने बताउनुभयो। धार्मिक यज्ञ आयोजना गरी निर्माण कार्य सुरु गर्ने तयारी भइरहेको उल्लेख गर्दै नमुना मार्गमा जडान गरिएका सडक बत्ती सञ्चालनका लागि विद्युत् महसुलको ५० प्रतिशत वडा कार्यालय र ५० प्रतिशत स्थानीयवासीले व्यहोर्ने सहकार्यको मोडेल अपनाइने जानकारी दिनुभयो। सार्वजनिक जग्गाको संरक्षणलाई प्राथमिकतामा राखिएको र अतिक्रमण रोक्न आवश्यक पहल गरिने पनि उहाँले स्पष्ट पार्नुभयो।
समीक्षा कार्यक्रममा प्राप्त सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी योजना नागरिकको आवश्यकता, स्थानीय माग र उपलब्ध स्रोतका आधारमा तर्जुमा गरिने वडा अध्यक्ष पोखरेलले बताउनुभयो। सीमित स्रोतसाधनका बीच पनि प्रत्यक्ष रूपमा नागरिकलाई लाभ पुग्ने योजनालाई प्राथमिकता दिइएको उल्लेख गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले भू–वर्गीकरण, पूर्वाधार विकास, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सेवा प्रवाहसँग सम्बन्धित विविध विषयमा सुझाव राखेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका सभापति बुद्धिप्रकाश रेग्मीले जग्गा खरिद–बिक्री करको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको जानकारी दिनुभयो। नेपाली कांग्रेस रामपुर नगर उपसभापति क्याप्टेन देवबहादुर थापा मश्राङ्गीले बेझाँड बजारस्थित नहर पुलका कारण बाङ्गेपसल, इस्लामपुर र सदावर्त क्षेत्रको विकास प्रभावित भएको भन्दै दीर्घकालीन समाधान खोज्न आग्रह गर्नुभयो।
पत्रकार रमा भण्डारीले नमुना मार्गमा जडान गरिएका सडक बत्ती तत्काल सञ्चालनमा ल्याउन र सडक निर्माणका बाँकी काम शीघ्र सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो। भोजराज भट्टराईले आवासीय क्षेत्रलाई व्यावसायिक क्षेत्रमा वर्गीकरण गर्दा अत्यधिक राजस्व तिर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै वर्गीकरण सच्याउन माग गर्नुभयो।
बाबुराम श्रेष्ठले अव्यवस्थित बसोबासका जग्गाको लालपूर्जा प्राप्त भए पनि खरिद–बिक्री तथा धितो राख्ने प्रक्रिया सहज हुन नसकेको गुनासो गर्नुभयो। वेदराज ढुङ्गानाले सार्वजनिक जग्गामा व्यक्तिगत रूपमा इनार निर्माण हुँदा पानीका मुहान सुक्ने जोखिम बढ्दै गएको भन्दै नियन्त्रण आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी गमिल दरैले भित्री कच्ची सडकमा ग्राभेल नहुँदा आवतजावतमा समस्या भएको गुनासो गर्नुभयो भने अर्जुन सुनारले बेझाँड बजार सडक निर्माणले अपेक्षित गति लिन नसकेको बताउनुभयो। तिलक मल्लले आवासीय क्षेत्रलाई व्यावसायिक क्षेत्रमा वर्गीकरण गर्दा स्थानीय थप आर्थिक भारमा परेको भन्दै पुनरावलोकन गर्न आग्रह गर्नुभयो।
इश्वरी अधिकारीले ६ मिटर सडक कायम हुने आधारमा जग्गा खरिद गरे पनि हाल ८ मिटर सडक कायम गरिँदा जग्गा घट्ने अवस्था आएको गुनासो गर्नुभयो। ऋषिराम रेग्मीले राममन्दिर निर्माण कार्य सम्पन्न गर्न सबै पक्षबीच साझा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो भने सुवेदार केशरबहादुर खाँणले विगतका त्रुटिका कारण हाल समस्या देखिएको उल्लेख गर्दै भू–वर्गीकरण प्रक्रियामा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो।
सहभागीहरूले वडा विकासलाई थप प्रभावकारी बनाउन, नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सडक पूर्वाधारको गुणस्तरीय निर्माण तथा भू–वर्गीकरण सम्बन्धी समस्याको समयमै समाधान गर्न सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका थिए।


