पाल्पा । रामतुलसी नमुना माध्यमिक विद्यालयमा १३कोठे पक्की शैक्षिक भवनको शिलान्यास गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले निर्माण हुन लागेको भवनको लागत तीन करोड ३५ लाख ७२ हजार ५७० रुपैयाँ रहेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विषाल श्रेष्ठ, प्रधानाध्यापक बालकृष्ण लम्साल लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो।
केन्द्रीय आयोजना केन्द्रिय इकाइ सानोठिमि भक्तपुर बाट बजेट अन्तर्गत निर्माण हुन लागेको भवनको काम गत असार महिनादेखि सुरु भएको हो। निर्माण कार्य १२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। जय धन्नजय र थ्री डट्स जे भिले काम गरीरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिषाल श्रेष्ठले जानकारी गराउनु भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा कक्षाकोठाको अभाव कम हुनुका साथै विद्यार्थीले सहज र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर पाउने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालका अनुसार विद्यालयमा दुईवटा शैक्षिक भवन, २४ कोठाको शैक्षिक संरचना, दुईवटा अत्याधुनिक शौचालय तथा खानेपानी ट्याङ्की निर्माणलगायतका काम अघि बढाइएको छ।
उहाँले शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार महत्वपूर्ण आधार भएको बताउँदै व्यवस्थित कक्षाकोठा, उपयुक्त फर्निचर तथा आवश्यक शैक्षिक सामग्रीको उपलब्धताले पठनपाठनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो।
निर्माण कम्पनीका प्रतिनिधि रविन सुवेदीले निर्धारित समयभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार भवनमा आवश्यक फर्निचर, टायल्सलगायतका सुविधासमेत समावेश गरिनेछ।
नयाँ भवन निर्माणसँगै विद्यालयको भौतिक पूर्वाधार थप व्यवस्थित हुने र शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।


