पाल्पा। रम्भा गाउँपालिका–३ पिपलडाँडाको आयोजना तथा वडा कार्यालय र रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा तयार गरिएको ‘पिपलडाडा दर्पण’ पुस्तकको विमोचन कार्यक्रम रम्भा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
पिपलडाँडाको धार्मिक, पर्यटकीय, ऐतिहासिक तथा समसामयिक पक्षलाई समेट्दै स्थानीय विकासका गतिविधिलाई दस्तावेजका रूपमा सुरक्षित गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो।
कार्यक्रममा पिपलडाडा दर्पण सम्पादक मण्डलका संयोजक भक्तुजङ्ग रानाले पुस्तक तयारीका क्रममा भोगिएका चुनौती, प्राप्त उपलब्धि तथा भावी पुस्ताका लागि स्थानीय इतिहास संरक्षणमा पुस्तकको महत्वबारे प्रतिवेदन प्रस्तुत गर्नुभयो।
पुस्तक विमोचन गर्दै प्रमुख अतिथि तथा रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले वडा नं। ३ ले विगतका योजना, स्थानीय सम्पदा र विकासका गतिविधिलाई एकै ठाउँमा समेटेर उदाहरणीय कार्य गरेको बताउनुभयो। उहाँले अन्य वडाले पनि यस्तै दस्तावेज तयार गरेमा गाउँपालिकाले सबै वडाको विवरण समेटेर ‘रम्भा दर्पण’ प्रकाशन गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सम्पादक मण्डलका सल्लाहकार पोस्टराज न्यौपाने, वडा नं। १ का अध्यक्ष ईश्वरी काफ्ले, वडा नं। २ का अध्यक्ष चेतबहादुर सुनारी, वडा नं। ४ का अध्यक्ष कृष्णबहादुर रायमाझी, वडा नं। ५ का अध्यक्ष खुमकान्त बस्याल, नेपाली कांग्रेस वडा समितिका सभापति ज्ञानबहादुर बराल, नेकपा ९एमाले० वडा कमिटी अध्यक्ष धातानन्द बस्याल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय उपसभापति महेश बस्याल लगायतले पुस्तक प्रकाशनको प्रशंसा गर्दै सम्पादक मण्डल र सहयोगी टोलीलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो।
सम्पादक मण्डलका सदस्य तुलसीराम अर्यालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सदस्य अवित सारुले गर्नुभएको थियो। कार्यक्रम वडा नं। ३ का अध्यक्ष थमनबहादुर गाहाको अध्यक्षतामा सम्पन्न भएको थियो।
गोपीकृष्ण बस्यालका अनुसार, कार्यक्रममा गाउँपालिकाका शाखा प्रमुख, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा विद्यालयका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा ‘पिपलडाडा दर्पण’ पुस्तक प्रकाशनमा विशेष योगदान पुर्याउने सम्पादक मण्डलका सदस्य तथा सहयोगीहरूलाई सम्मानसमेत गरिएको थियो।


