गोरखनाथ माविको विव्यस अध्यक्षमा अर्जुन बयम्बु

बोली खबर   २०८३-०६-०२


होम राई मगर
पाल्पा । निस्दी गाउँपालिका-६, अर्चले स्थित गोरखनाथ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुन बयम्बु चयन भएका छन् । विद्यालयमा आज सम्पन्न अभिभावक भेलाले बयम्बुलाई अध्यक्षमा चयन गर्दै नयाँ विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेको हो ।
शिक्षा ऐनको दशौँ संशोधनमा रहेको व्यवस्थाअनुसार गठन गरिएको समितिको सदस्यमा योमाया मश्राङ्गी, गितान्जली राना र यम बहादुर बयम्बु चयन भएका छन्। त्यस्तै, शिक्षक प्रतिनिधिमा मनोज मश्राङ्गी र सदस्य–सचिवमा प्रधानाध्यापक ईश्वरी प्रसाद अर्याल रहेका छन् । पदेन सदस्यका रूपमा सम्बन्धित वडाबाट प्रतिनिधि पछि मनोनीत गरिने जनाइएको छ।
यसैबीच भेलाले लिमी सरा रानाको अध्यक्षतामा शिक्षक अभिभावक संघसमेत गठन गरेको छ ।
कार्यक्रममा बोल्दै निस्दी गाउँपालिका-६ अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास र समग्र विद्यालय सुधारका लागि शिक्षक, अभिभावक, विद्यार्थी, व्यवस्थापन समिति तथा समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो ।
वडा अध्यक्ष सुनारीले नयाँ नेतृत्वले विद्यालयका आवश्यकता र प्राथमिकतालाई पहिचान गरी सक्रिय रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै विद्यालयको विकासका लागि वडा तहबाट आवश्यक सहयोग र समन्वय निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै, निवर्तमान विव्यस अध्यक्ष प्रकाश रानाले आफ्नो कार्यकालमा विद्यालयको विकास तथा व्यवस्थापनमा सहयोग गर्ने शिक्षक, अभिभावक, विद्यार्थी र सम्पूर्ण समुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आगामी दिनमा पनि आफ्नो तर्फबाट आवश्यक सहयोग र सहकार्य रहने बताउनुभयो ।
अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको भेलाले विद्यालयको आगामी योजनाका विषयमा समेत छलफल गरेको थियो। नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको सक्रिय, कुशल तथा समन्वयकारी नेतृत्वले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।
विद्यालयको विकासमा अभिभावकको सहभागिता र समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै नयाँ समितिले आगामी दिनमा विद्यालयका प्राथमिकताका विषयलाई अघि बढाउने विश्वास लिइएको छ ।