साक्षरता दिवसमा निस्दीका ६७ विद्यार्थी, २५ शिक्षक र ५ विद्यालय सम्मानित
होम राई मगर
पाल्पा । निस्दी गाउँपालिका, पाल्पाले राष्ट्रिय साक्षरता दिवसको अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ। गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा विभिन्न तहका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ६७ जना विद्यार्थी, २५ जना शिक्षक र ५ वटा विद्यालयलाई नगद तथा सम्मानपत्रसहित सम्मान गरिएको हो।
कार्यक्रमको अध्यक्षता निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले गरेका थिए। उनले शिक्षा विकासको आधार भएकाले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीको प्रतिभा र शिक्षकको योगदानलाई प्रोत्साहन गर्न गाउँपालिकाले सम्मान कार्यक्रमलाई निरन्तरता दिएको बताए। उनले निस्दीको शैक्षिक विकासका लागि गाउँपालिका, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश उद्योग तथा पर्यटन विकास समितिका सभापति तथा प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए। उनले शिक्षामा गरिएको लगानीले व्यक्तिको मात्र नभई समाज र समग्र क्षेत्रको भविष्य निर्माण गर्ने भन्दै विद्यार्थीलाई पढाइसँगै सिर्जनशील, अनुशासित र जिम्मेवार नागरिक बन्न प्रेरित गरे। उनले ग्रामीण क्षेत्रमा शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय तह, प्रदेश र समुदायबीच सहकार्य आवश्यक रहेको बताए।
गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको सहयोगकै कारण शैक्षिक क्षेत्रमा सकारात्मक परिणाम देखिन थालेको बताइन्। उनले सम्मानले विद्यार्थी र शिक्षकलाई थप उत्साहित बनाउँदै आगामी दिनमा अझ राम्रो उपलब्धि हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरिन्।
सामाजिक विकास समितिका संयोजक तथा निस्दी-६, अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीले शिक्षाको गुणस्तर सुधारलाई स्थानीय सरकारको प्रमुख प्राथमिकतामध्ये एक बनाउनुपर्ने बताए। उनले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयको सम्मानले प्रतिस्पर्धात्मक भावना बढाउनुका साथै मेहनत गर्नेहरूलाई प्रोत्साहन मिल्ने धारणा राखे।
६७ विद्यार्थी सम्मानित
सम्मान कार्यक्रममा कक्षा ३ र ५ को उपलब्धि परीक्षामा उत्कृष्ट हुने ३ जना, आधारभूत तह उत्तीर्ण परीक्षामा उत्कृष्ट ३१ जना, एसइई परीक्षामा उत्कृष्ट १९ जना र माध्यमिक तह कक्षा १२ मा उत्कृष्ट १४ जना गरी जम्मा ६७ जना विद्यार्थीलाई नगद पुरस्कार तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो।
त्यसैगरी विभिन्न विद्यालयका उत्कृष्ट कार्यसम्पादन गर्ने २५ जना शिक्षक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याएका ५ वटा विद्यालयलाई समेत सम्मान गरिएको थियो।
विद्यार्थीबीच वादविवाद प्रतियोगिता
साक्षरता दिवसकै अवसरमा माध्यमिक तहस्तरीय विद्यार्थीबीच वादविवाद प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामा ११ समूहको सहभागिता रहेको थियो।
प्रतियोगितामा बालहित माध्यमिक विद्यालय, निस्दी–२ की भूमिका समाल प्रथम, लक्ष्मी माध्यमिक विद्यालय, निस्दी–३ की प्रिया आले द्वितीय र गौरीशंकर माध्यमिक विद्यालयकी सृष्टि सुनारी तृतीय भएका छन्।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य लिल बहादुर रासले दिएका थिए भने सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक कविता पोखरेल र बालमैत्री शाखा संयोजक कुश्माखर पाण्डेयले गरेका थिए।
साक्षरता दिवसका अवसरमा गरिएको विद्यार्थी, शिक्षक र विद्यालय सम्मानले निस्दीको शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्नेहरूलाई प्रोत्साहन मिल्नुका साथै आगामी दिनमा शैक्षिक गुणस्तर सुधारका लागि थप प्रेरणा गर्ने अपेक्षा गरिएको छ ।



