निस्दीमा प्रधानाध्यापकहरूका लागि वार्षिक कार्यक्रम कार्यान्वयन अभिमुखीकरण कार्यक्रम सम्पन्न

  २०८३-०७-२२


होम राई मगर
पाल्पा । २१ कार्तिक । पाल्पाको निस्दी गाउँपालिकामा प्रधानाध्यापकहरूका लागि दुईदिने वार्षिक कार्यक्रम कार्यान्वयन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको सभा हलमा सञ्चालन भएको कार्यक्रममा निस्दी गाउँपालिकाभित्र सञ्चालित ५१ वटा विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।
विद्यालयमा वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने, स्वीकृत स्थानीय शिक्षा योजनाका मुख्य पक्षहरूबारे जानकारी गराउने, वर्तमान शिक्षा नीति, नियम, कार्यविधि तथा मापदण्डका विषयमा स्पष्ट पार्ने र कार्यक्रम कार्यान्वयनका क्रममा देखिने अन्योल तथा समस्याहरू न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहजीकरण गर्दै नर बहादुर थापाले स्थानीय शिक्षा योजना, शैक्षिक कार्यक्रमको कार्यान्वयन प्रक्रिया तथा विद्यालय सञ्चालनसँग सम्बन्धित नीतिगत र कानुनी व्यवस्थाबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेको अध्यक्षतामा सम्पन्न भएको हो । अध्यक्षता गर्दै चितौरेले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालयको योजना र कार्यक्रमलाई निर्धारित लक्ष्यअनुसार कार्यान्वयन गर्न प्रधानाध्यापकहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले शिक्षा क्षेत्रको विकास गाउँपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै विद्यालयको समग्र सुधारका लागि सबै पक्ष जिम्मेवार र प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय शिक्षा योजनाले तय गरेका लक्ष्य हासिल गर्न प्रधानाध्यापकहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी सहभागीहरूको तर्फबाट राधाकृष्ण माध्यमिक विद्यालय बाकामलाङका प्रधानाध्यापक भेष बहादुर अधिकारीले अभिमुखीकरण कार्यक्रमले विद्यालयमा कार्यक्रम कार्यान्वयनका क्रममा देखिने अन्योल हटाउन तथा नीतिगत विषयमा स्पष्टता ल्याउन सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा संयोजक कविता पोखरेलले गर्नुभएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको अभिमुखीकरण कार्यक्रमले निस्दी गाउँपालिकाभित्रका विद्यालयहरूको वार्षिक शैक्षिक कार्यक्रम कार्यान्वयनलाई थप व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।