सामुदायिक रेडियो रामपुरको १८औँ वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न
पूर्वी पाल्पाको सञ्चार इतिहासमा महत्वपूर्ण पहिचान बनाएको सामुदायिक रेडियो रामपुरले १८औँ वार्षिक उत्सव तथा वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
कात्तिक २६ गते रेडियोको प्राङ्गणमा आयोजित कार्यक्रम सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद लम्सालको अध्यक्षता र रेडियो सस्थापक सदस्य , सामाजिक अभियानता जेष्ठ नागरीक दुर्गादेवी पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले सामुदायिक रेडियो रामपुर पूर्वी पाल्पाको सञ्चार क्षेत्रको धरोहर तथा यस क्षेत्रकै पहिलो रेडियो भएकाले सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले जनताको घरआँगनमा गुञ्जिने रेडियोले जनताको आवाजलाई निरन्तर बुलन्द पार्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
रामपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष दामोदर पाठकले स्थापनाकालदेखि नै आफू रेडियोसँग जोडिएको स्मरण गर्दै संस्थालाई अप्ठ्यारो परिस्थितिमा पनि निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। रेडियोको आर्थिक अवस्था सुदृढ बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने र बजेट व्यवस्थापनका लागि विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग समन्वय गर्दै सम्बन्धित निकायसम्म पहल गर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद लम्सालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष यदुनाथ खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने रेडियोका निमित्त स्टेशन प्रबन्धक शोभाकान्त पाठकले लेखा शाखाको प्रतिवेदनमार्फत २६ लाख ९३ हजार २२२ रुपैयाँ ७७ पैसाको आयव्यय विवरण सार्वजनिक गर्नुभयो।
कालीगण्डकी सामुदायिक विकास केन्द्रका अध्यक्ष देवेन्द्रप्रसाद पोखरेलले रेडियो १७ वर्षको यात्रा पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दै रेडियो स्थापनाको पृष्ठभूमि र सुरुवाती संघर्षका दिनहरू स्मरण गर्नुभयो।
कार्यक्रममा रामतुलसी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुर नगर समितिका सचिव हरि पोखरेल, नेपाली कांग्रेस रामपुर नगर सभापति रामप्रसाद ढकाल ‘रमेश’, कालीगण्डकी बचाउ अभियानका संयोजक कृष्णप्रसाद पौडेल, रेडियोका पूर्व अध्यक्ष ऋषिराम भट्टराई, रामपुर उद्योग वाणिज्य संघका महासचिव कृतिनाथ श्रेष्ठ, पूर्व स्टेशन प्रबन्धक सुकदेव पोखरेल, कालीगण्डकी सामुदायिक विकास केन्द्रका उपाध्यक्ष एकराज शर्मा अर्याल, रामपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष अर्जुन सुनार, नेपाल पत्रकार महासंघ पाल्पा शाखा उपाध्यक्ष बन्दना पोखरेल तथा रेडियो कर्मचारीका तर्फबाट रमादेवी अर्याल भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
सहभागीलाई संस्थाका उपाध्यक्ष प्रेमप्रसाद पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो। उपाध्यक्ष छायाचन्द्र पंगेनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निमित्त स्टेशन प्रबन्धक शोभाकान्त पाठकले गर्नुभएको थियो।
जनताको मुठ्ठीदानबाट सुरु भएको रेडियोको ऐतिहासिक यात्रा
पूर्वी पाल्पाको रामपुरलाई केन्द्र बनाएर यस क्षेत्रमै पहिलोपटक भरपर्दो सञ्चार माध्यमका रूपमा स्थापना भएको सामुदायिक रेडियो रामपुरको इतिहास सामुदायिक एकता, जनसहभागिता र सामाजिक आवश्यकतासँग जोडिएको छ।
२०६१ साल मंसिर ६ गते पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका बुद्धिजीवी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरूको भेलाले यस क्षेत्रमा सामुदायिक रेडियोको आवश्यकता महसुस गरेको थियो। सोही भेलाको निर्णयअनुसार बासुदेव देवकोटाको अध्यक्षतामा १७ सदस्यीय कालीगण्डकी सामुदायिक विकास केन्द्र स्थापना गरी रेडियो सञ्चालन गर्ने निर्णय गरिएको थियो।
तत्कालीन रामपुर गाविसले वडा नम्बर ५ सानीअमराईमा १० रोपनी सरकारी जग्गा उपलब्ध गराएपछि रेडियो भवन निर्माणको प्रक्रिया अघि बढेको थियो। २०६३ सालमा प्रसारण इजाजत प्राप्त गरेको रेडियोले २०६५ साल कात्तिक २६ गते अपराह्न ४ बजे परीक्षण प्रसारण सुरु गरेको थियो। २०६६ साल असोज २ गते नियमित प्रसारणको अनुमति प्राप्त गरी सोही वर्ष पुस २८ गते विधिवत् उद्घाटन गरिएको थियो।
जनताको मुठ्ठीदान र सामुदायिक सहयोगबाट सुरु भएको रेडियोमा हाल करिब ९ सयभन्दा बढी विशिष्ट आजीवन तथा आजीवन सदस्य आबद्ध छन्। बिहान ५ बजेदेखि राति १० बजेर १५ मिनेटसम्म प्रसारण हुँदै आएको रेडियो सुरुमा १०० वाट क्षमतामा सञ्चालन भएकोमा हाल प्रसारण क्षमता ५०० वाट पुगेको छ। सामुदायिक रेडियो रामपुर १०३.६ मेगाहर्जमार्फत यसको प्रसारण क्षेत्रसमेत विस्तार हुँदै गएको छ।
वार्षिक उत्सवमा नयाँ आजीवन सदस्य थपिए
वार्षिक उत्सवकै अवसरमा चार जना सहयोगी आजीवन सदस्य बन्नुभएको छ। रामपुर नगरपालिका वडा नम्बर १ का डोलराज कँडेलले २ हजार १० रुपैयाँ, रामपुर नगरपालिका वडा नम्बर ८ का यज्ञप्रसाद आचार्य र राजाराम घिमिरेले जनही २ हजार ५ रुपैयाँ तथा कावासोती नगरपालिका वडा नम्बर २ नवलपुरकी राधिकादेवी सिग्देलले २ हजार २०० रुपैयाँ सहयोग गरी आजीवन सदस्यता ग्रहण गर्नुभएको हो।
कालीगण्डकी सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो रामपुरले स्थापनाकालदेखि नै स्थानीय जनजीवन, सामाजिक सरोकार, शिक्षा, स्वास्थ्य, कृषि, संस्कृति र विकासका सवाललाई प्राथमिकतामा राख्दै आएको छ। समाचार, विचार र मनोरञ्जनका विविध सामग्रीमार्फत आवाजविहीनहरूको आवाज बुलन्द पार्दै सामाजिक गतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिँदै आएको रेडियोले १८ वर्षको यात्रा पूरा गरेको छ।
जनताको सहभागिता र विश्वासबाट स्थापित सामुदायिक रेडियोको आगामी यात्रा अझ विश्वसनीय, उत्तरदायी र जनमुखी बन्न सकोस् भन्ने अपेक्षासहित वार्षिक उत्सव सम्पन्न भएको छ।


