दोस्रो लेकाली कपको उपाधि रामपुर गेझालाई

  २०८३-०८-०१


होम राई मगर
पाल्पा, ३० कार्तिक । निस्दी गाउँपालिका–६, अर्चलेस्थित नारीभञ्ज्याङमा सञ्चालित दोस्रो लेकाली कप खुला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रामपुरको गेझाले जितेको छ ।
कार्तिक २७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा गेझाले निस्दीको रनगुवा खेलकुद समाजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
उपाधिसँगै गेझाले नगद ५५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको रनगुवा खेलकुद समाजले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा अर्चले भलिबल क्लबले आयोजक लेकाली क्लबलाई २–१ को सेटमा पराजित गरेको थियो । तृतीय स्थान हासिल गरेको अर्चले भलिबल क्लबले नगद २० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गरेको आयोजकले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा रामपुर गेझाका वीरबहादुर राकासकोटी उत्कृष्ट खेलाडी घोषित भएका छन् । विधागत पुरस्कारतर्फ बेस्ट स्पाइकरमा गेझाका दिपेश आले, बेस्ट सेटरमा रनगुवाका मुस्कान राई, बेस्ट डिफेन्डरमा लेकाली क्लबका विजय राना, बेस्ट ब्लकरमा अर्चलेका विज्ञान खण्डलु र उदयमान खेलाडीमा रनगुवाका कुशल राई पुरस्कृत भएका छन् ।
प्रतियोगिताका विजेता, उपविजेता तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । साथै, प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग गर्ने सहयोगदाताहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा जनप्रिय बाल क्लब अर्चले र डाँफे बाल क्लबका बालबालिकाले विभिन्न सांगीतिक प्रस्तुति गरेका थिए ।
लेकाली क्लबका अध्यक्ष प्रकाश रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव अनिल रानाले गर्नुभएको थियो ।