पाल्पा। रामपुर आयुर्वेद अस्पतालमा नवनिर्मित योगहलको आइतबार बिहान समुद्घाटन गरिएको छ। नियमित योग अभ्यासमा सहभागी हुने साधकको सङ्ख्या बढ्दै गएपछि अभ्यासलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले नयाँ योगहल निर्माण गरिएको हो।
लुम्बिनी प्रदेश सरकार र रामपुर नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा निर्माण सम्पन्न योगहलको उद्घाटन कार्यक्रम पतञ्जली योग समिति रामपुरका अध्यक्ष सुदीप गैरेको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
योगहलको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले स्वस्थ जीवनका लागि योग अपरिहार्य रहेको बताउनुभयो। योगलाई अरूलाई सिकाउनुअघि आफैँबाट अभ्यास सुरु गर्नुपर्नेमा जोड दिँदै उहाँले योगले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य र समग्र कल्याणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। योग अभ्यासलाई नियमित जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्दै उहाँले बढ्दो योग साधकको आवश्यकतालाई मध्यनजर गरी प्रदेश सरकारले योगहल निर्माणका लागि बजेट विनियोजन गरेको बताउनुभयो।
रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले प्रदेश सरकारको ३० लाख र नगरपालिकाको ६ लाख गरी कुल ३६ लाख रुपैयाँको लागतमा योगहल निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। उहाँले स्वस्थ र निरोगी जीवनका लागि योगको महत्व बढ्दै गएको भन्दै नियमित अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
रामपुर नगरपालिका–७ का वडाध्यक्ष दोवराज तिवारीले पतञ्जली योग समिति रामपुर तथा महिला पतञ्जली योग समितिले योग अभ्याससँगै सामाजिक र उत्पादनमूलक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो।
त्यस्तै, नगर कार्यपालिका सदस्य माया नेपालीले योग साधकको बढ्दो सङ्ख्यालाई ध्यानमा राखेर निर्माण गरिएको नयाँ हलले अभ्यासमा सहजता थप्ने विश्वास व्यक्त गर्नुभयो। यसअघि सीमित क्षमताको हलमा योग अभ्यास गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पतञ्जली योग समिति रामपुरका अध्यक्ष सुदीप गैरेले नयाँ संरचना निर्माणले साधकहरूलाई थप सहज हुने बताउनुभयो।
नवनिर्मित योगहलमा एकैपटक ५० जनाले योग अभ्यास गर्न सक्ने क्षमता रहेको छ। यसअघि अस्पतालमा रहेको हलमा एकपटकमा २५ जनाले मात्र अभ्यास गर्न सक्ने व्यवस्था थियो। नयाँ हल निर्माणसँगै योग अभ्यासलाई थप व्यवस्थित र विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महिला पतञ्जली योग समिति रामपुरकी अध्यक्ष भगवती गौतमको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन समितिका उपाध्यक्ष विन्दु श्रेष्ठले गर्नुभएको थियो।
रामपुर आयुर्वेद अस्पतालमा नियमित रूपमा योग अभ्यासका कक्षासमेत सञ्चालन हुँदै आएका छन्।





