मंसिरको महिना जाडोको समय छ । तिनाउखोलाको सिरेटोले बुटवल बजारको गल्लीदेखि चोक हुँदै बजारलाई कब्जा गरेको छ। त्यसै माथि ढुँडीले बजार माथिको आकाशलाई घुम्टो ओढाएको छ।
बिहानको साढे आठ बजेको जनाउ गर्छ हातको घडीले । म बसपार्क भित्र एउटा फलामे बेन्चमा बसेको छु । कसैको प्रतिक्षामा छु । प्रतिक्षाको समय कति लामो हुने। मिनेट पनि घण्टा बढी लाग्ने। गाडीहरू भित्रिने र बाहिरिने क्रम छ। माहुरीको ज्यामीहरू आउने र जाने गरे जस्तै लाग्छ।
म चिया पसलको नजिकै छु। पिउनेहरू पिईरहेका छन् । चिया बेच्नेले बेचिरहेकी छिन्। पिउँ कि मैले पनि ? मन बोल्छ । चिसो सिया पिउनेलाई चियाको के स्वाद! म आफै रोकिन्छु। कतिखेर आईपुग्ला त हरिलाल? मेरो मन आत्तिन्छ ।
आत्तिनुको पनि कारण छ। हरिलालसँग भेटघाट गरेर म घरतिर लाग्नु पर्छ। हरिलाल बुटवल मै बस्छ । म पूर्वि पाल्पा । खासमा हरिलालको अनुरोधलाई इन्कार गर्न नसकेर म त्यो जाडो पनि नभनी बसिरहेको छु। ‘तिमी छुट्टीमा आउँदा मलाई भेट ।’ उसले यही भनेको थियो भ्वाइस मेसेजमा।
म परदेशमा । हरिलाल घरदेशमै । ऊ हरिलाल र म लाल सिंह । हामी बच्चैदेखिको साथी । दाँवली। दौँतरी । सँगै पढेको । एउटै बेन्चमा बस्थ्यौँ । पढाइमा ऊभन्दा म अलिक अब्बल । उसले पढाइमा भन्दा घरायसी काममा समय दिनु पर्थ्यो । उसको बा-आमाले निमेक गरेर बालबच्चा पाल्नु परेको थियो । त्यसैले प्रायः अरुकै मेलोमा हुन्थे ।
उसले घरको काम र भाइबहिनी नहेरे कसले हेर्छ? तर स्कुल छोडेको थिएन । गईरहन्थ्यो पोहोर साल अरुले पढेको एक साल पुरानो किताबहरू बोकेर । धन्न किताब पुरानो भए पनि अक्षर पुरानो नहुने रहेछ। उहीँ अक्षर !
मेरो नयाँ किताब देखेर ऊ औधी रमाउथ्यो। मेरो किताब हेर्थे । पढ्थे । मैले केही भन्दैनथेँ । हरिलाल मेरो मिल्ने साथी। सँगै खेल्थ्यौँ । बाख्रा चराउन वनतिर गोठालो गइन्थ्यो । हरिलाल सानैदेखि मिलनसार र फरासिला थिए ।
दस कक्षासम्म सँगै पढ्यौँ । एसएलसीमा हामी दुवै जना पास । म दोस्रो ऊ तेस्रो श्रेणीमा । उसको परिवारमा त्यो दिन खुसी र दु:ख सँगसँगै आयो। छोरोले एसएलसी पास गरेकोमा खुसी र क्याम्पस कसरी पढाउने? दुखी पनि । घरको आर्थिक अवस्था कमजोर । केही उपाय नभएपछि उसलाई क्याम्पस भर्ना गराउन सकेन। म पढ्नलाई बुटवल झर्नु पर्यो ।
छुट्ने बेलामा उसले भनेका थिए- ‘लाल सिंह, म त यतिकै भएँ पढ्नलाई। तैले धेरै पढेर आएस् । ठूलो मान्छे बनेर फर्केस ।’ आँखाभरी आँसु टिल्पिलाउँदै त्यसरी बोल्दा ‘मिल्ने भए तलाई पनि मेरो साथमै लगेर पढाउँथेँ हरिलाल’ मनमनै यस्तै भनेँ । तर मुखले बोल्न सकेन।
नि:शब्द हातहरू हल्लाएर छुट्टियौँ । त्यसपछि ऊसँग टाढिन पुग्यो । बुटवल बहुमुखीबाट मैले बिए गरेर घरतिर फर्किन्छु । हरिलालले केही ऋण खोजेर स्कुल नजिकै पसल चलाईरहेको छ । उसको पसल राम्रै चल्दोरहेछ । एकदिन नियालेँ । खुसी लाग्यो।
हरिलालले व्यापार व्यवसायमा राम्रो भविष्य देखेछ । म गाउँमा फर्केको साल नबित्दै ऊ व्यापार गर्न बुटवल झर्यो । घाम र जूनको चाल जस्तै भयौँ हामी। म गाउँ आउनु, ऊ सहर जानू। मैले स्कुलमा पढाउन थालेँ । उसको व्यापार राम्रो चलेको खबर सुनिन्थ्यो । चार साल जति स्कुल पढाएँ। बिहेवारी भयो । छोराछोरीका बाउ बनेँ ।
जिम्मेवारी थपियो । गरिराखेको जागिरबाट विस्थापितमा नाम आयो । महङ्गी समय । एक्लो जिन्दगी भए तै हुन्थ्यो। परिवार सहितको जिम्मेवारी छ । विकल्पहरू खोज्छु। अरु उपाय देख्न सक्दिनँ। राहदानी बनाउँछु र दुबई प्रस्थान गर्छु । समय नमिलेर ऊसँग नभेटेको करिब दश/बाह्र साल भएछ ।
दुबईबाट साथीले पठाएको पार्सलहरू पुर्याउन बुटवल पुगेको छु । यही बेलामा हरिलालसँग भेट्ने योजना बन्छ । र पर्खीरहेको हुन्छु बसपार्कमा ।
कसैले पछाडिबाट ढ्याम्मै काँधतिर हान्यो । म झस्याङ्गै । ‘लाल सिंह, मैले धेरै कुराएँ है ? के छ हालखबर ?’ उसको आवाजले ठम्याएँ, हरिलाल नै हो ।
‘ठिकै छ हरि । के छ तेरो हालखबर ?’ उमेरले दाजु पर्ने हो । तर हामी सानैदेखिको दाँवली, तँ तिमी चल्छ । पुरानो साथीको गन्ध अझैँ भुलेको रहेनछ । नत्र कसरी चिन्यो उसले पछाडिबाटै ? यसो हेर्छु।
हरिलाल धेरै फेरिएछ । हाउभाउ र शरीर । कपालको स्टाइल र लवाइ । मुख्यत पेट बढेछ ड्याम्मको । कति खाइलाग्दो । ऊ बेला मरन्च्याँसे ज्यान । कतै बेलामा खान नपाएर । कतै पौष्टिक खाना नमिलेर । ‘सप्रेछस् हरिलाल, तैँले ज्यान बनाएछस् ।’ मनमनै भन्छु । उसलाई देखेपछि लाग्यो, उबेलाको हरिलालको स्थानमा म पुगेको रहेछु ।
मेरो स्थानमा अहिले हरिलाल। समयले ठ्याक्कै उल्ट्याएछ । उसको बोलीको स्वर भने पहिले जस्तै सुनिन्छ । उसले बस स्टाफलाई भन्छ- ‘नम्बर थाप्न लाइनमा बस्नु। राम्रोसँग गएर फर्किनु ।’ हुन्छ भन्ने संकेतमा दुवै जनाले टाउको हल्लाउँछ।
उनीहरू बस व्यवसायी संघको काउण्टरतिर लाग्छन् । उनीहरू राजधानी जाँदै रहेछन् । काठमाडौँको लाइनमा गएर रोकियो ।
‘घरतिर सबै सन्चै छन् त लाल सिंह ?’
‘अँ, सन्चै भनम् । तर बालाई प्यारालाइसिसले सताएको छ। आमालाई दमको व्यथाले। अनि तिम्रो तिर?’
‘आरामै हुनुहुन्छ। उमेर पुगेपछि एउटा न एउटा रोगले सताउँदो रहेछ त नि। बाआमा गाउँ नछोड्ने कुरा गर्नु हुन्थ्यो। सँगै बस्ने कोही भएनन्। परार साल यतै ल्याएँ।’
बोल्दै गएर नास्ता खाने एउटा रेष्टुरेन्टमा पुग्छौं। निकै भिडभाड छ। अलिक एकान्त जस्तो कोठाको टेबलतिर बस्यौं। धेरैपछि भेट भएको छ। धेरै सालसम्म खोल्न नपाएका मनका कुन्तुरो खोल्नु छ। मनहरू फेरि उहीँ बाल्यकालतिर खर्लाप्पै फर्केर आउँछ।
‘नास्ता के खाउ हरि?’
‘तिम्रो रोजाइ। तर आजको बिल मेरो।’
‘खाम् न पहिले। तिर्न त जसले तिरे पनि भयो नि।’
‘कहाँ हुन्छ? बुटवलमा आकाछौ। आज त मेरो पाहुना हौ तिमी।’
‘तेरो बच्चैदेखिको बानी अझैँ हटेको छैन रहेछ हरि।’
‘हेर लाल सिंह, तिमी त मेरो एकदमै मन मिल्ने साथी हौ। समयले जहाँ पुर्याए पनि मनमा हामी सधैँ सँगै हुन्छौँ। सानोमा तिम्ले लगाएको गुन बिर्सेको छैन मैले।’
‘हो हरि। समयले जहाँ पुर्याए पनि असल साथीको नाता नजिकै हुँदो रहेछ। तिम्रो कुरा सुनेर खुसी लाग्यो।’
चिया, पुडी, जुलबी। अर्डर हुन्छ। तात-तातो हुर्हुरती बाफ सहित ताजा नास्ता टेबलमा ल्याई पुर्याउँछ। नास्ता जस्तै मन तातो भएको छ। रमाइरहेको छ।
‘कि चिसो सिया पिउँछौ लाल सिंह?’ मजाक गर्दै बोल्छ।
‘हैट.. एकाबिहानै को पिउँछ’ हरिलाल खित्का छोडेर हाँस्छ। उसलाई कुनै हाँसो लाग्ने पुरानो कुराको याद आएको हुनुपर्छ।
‘किन हाँसेको हरि? के सम्झ्यौ?’
‘चिउरीबोटे लाहुरे काका पल्टनबाट आउँदा झ्याउरे नचाएको याद छ। नौ कक्षामा पढ्ने बेला क्या।’
‘अँ अँ, हो नि। त्यो रात के भाको होला है हामीलाई।’
‘छ्याङ्ग पिएर। तिम्ले त खुट्टाले टेक्ने भए पो।’ बल्ल म पनि हाँस्न थाल्छु। विगत सम्झिदै।
‘लाल सिंह, यसो गरौँ। आज यतै बसौँ। मेरो घरतिर बस्न जाउँ। भोलि बिहानै फर्क घरतिर।’
‘घरतिर आजै पुग्ने गरी फर्किन्छु भनेर आएको छु। कुनै दिन आम्ला।’
‘अहँ, तिम्लाई त्यो कुनै दिन कहिल्यै आउँदैन। घरमा कल गर। खै म कुरा गरिदिन्छु जमुना बहिनी सित।’
‘हरि, बरु म नाइट बसमा जाउँला। यतै कतै बसेर मनका कुरा गरौँ। कुनै दिन आउँछु।’
‘मेरै घरको आँगनमा आएर पनि घरै नपसी जान कहाँ पाइन्छ। मेरो बाआमालाई पनि भेट। मेरो बाआमा तिम्रो पनि त बाआमा नै हुन्।’
गंगा, दुई जनालाई खाना बनाएर राख। हामी आउँदैछम्। हरिलालले कल गरिहाल्यो। मोबाइलमा ‘हवस् हुन्छ।’ भनेको सुन्छु। नगए ठूलो पल्टिएको भन्ने डर। जानै पर्ने भयो। हरिलाल र म मुकुन्दसेन फूलबारीतिर घुम्न पुग्छौँ। मेरो रहरले गएका थियौँ।
एघार बजे देवीनगर जाने बसमा चढ्यौँ। उसको घर देवीनगर। घरको गेट नजिकै गएर रोकियो। गेटमा ‘थापा निवास’ लेखेको छ। गेट खोलेर प्रवेश मै नजर ठोकिन्छ हरिको बाआमासम्म। दर्शन गर्छु। उहाँहरुको पाउ पर्दा मेरै बाआमाको झल्को दिलाउँछ।
धेरै सालपछि कान्छा बा र कान्छी आमाको मुहार देख्न पाउँदा मन भित्रैबाट खुसी छाउँछ। उहाँहरू पनि रमाउनु हुन्छ। मेरो मनमा उहिले बच्पनको एउटा कुरा याद आउँछ। ‘लाल सिंह, हाम्रो हरिलाललाई तिम्रो नयाँ किताब पढ्न देऊ है। हामी त गरिब मान्छे, नयाँ किन्न सकिन्न। तिम्रै किताब छोएर उसको नयाँ किताब पढ्ने रहर पूरा गरोस्।’
र मैले भनेको थिएँ- ‘हुन्छ नि। मेरो भएपछि किन नयाँ किन्न पर्यो। हामी मिलेर पढ्छौँ।’ उतिबेला मेरो सहमति देखेर कति ज्ञानी, कति इमान्दार छ यो लाल सिंह भन्नु भएको थियो आमाले। समयले खोल्टो फेरेछ। आज उहीँ परिवार बुटवलको स्थायी बासिन्दा भएको छ।
घरतिरको कुरा। परदेशमा काम र दामको कुरा चल्छ। घर भित्रबाट एक जना सुन्दर रुपवती नारी निस्किइन्। मलाई देखेर मुस्कुराइन्। ‘हरि उहाँ भाउजू हुनु हुन्छ?’ दुई हात जोडेर नमस्कार गरिन्। त्यसपछि बल्ल हरिलालले उनी भाउजू, मेरी श्रीमती गंगा। उसले चिनाए।
उहाँको माईती अर्घाखाँची रहेछ। ‘निधारमा लेखेको रहेछ, कहाँबाट आईपुगी। चिनजान भएको छोटो समयपछि हाम्रो बिहे भयो।’ हरिको कुरा सुनेर भाउजू लजाउँदै भित्र पस्नु हुन्छ। एकछिनपछि ट्रेमा चिया लिएर बाहिर आउनु भयो।
चिया दिँदा नजिकबाट नियाल्छु। हरिलालको निधार ठूलै रहेछ। भाग्य लेख्न अटाउने गरी। यति सुन्दर नारीको श्रीमान हुने मान्छे कम्ता भाग्यमानी हैन। तलाई बधाई छ हरिलाल। मन आफै बोल्छ।
आमा बोल्नु हुन्छ ‘दु:ख नपाएको भए हाम्रो हरिलाल पनि परदेशको कुन ठाउँमा हुन्थे यतिखेर। सानैदेखि दु:खमा हुर्कियो। चेत खायो। कहाँ कहाँबाट बुद्धि लगाएर यहाँसम्म ल्याएको छ हाम्लाई।’
छोराको प्रगतिमा आमाको मुहारमा खुसी झल्किन्थ्यो। ‘हरिलाल निकै मिहेनती र फरासिलो मान्छे। राम्रो प्रगति गरेछ कान्छी आमा’ म सही थप्दै बोल्छु। चटक्कको छ कोठे पक्की घर। घरको अगाडि सानो बगैँचा। रङ्गी बिरङ्गी फूलहरू फुलिरहेका छन्। खानपिन गरेर बाहिर निस्किदा घामले न्यानो किरण छरिरहेको हुन्छ।
दुई छोराछोरी पढ्न गएका रहेछन्। न्यू होराइजन बोर्डिङमा। पारिलो घामको किरणले न्यानो दिने प्रयास गर्दैछ। हामी न्यानोमा रमाउन थाल्दैछौं। बाआमाहरू छेउतिर गलैँचामा बस्नु भएको छ। हामी उहाँहरू कै छेउमा।
‘बजारमा गाउँमा जस्तो नहुँदो रहेछ बाबु। सबै आफ्नै सुर। हाम्रो हरिलालले कति महंगोमा घर किने। त्यो पैसाले गाउँ तिर किनेको भए कति धेरै पाटा खेतबारी आउँथ्यो। यो घर चल्नै नमिल्ने साघुँरो जस्तो लाग्छ कहिले काहीँ।’
गाउँको माया झट्टै मार्न कहाँ सकिन्छ र! उहीँ जन्मेर बुढ्यौली भएको। ‘हो कान्छी आमा, सबै ठाउँ भने जस्तै कहीँ हुँदैन रहेछ। गाउँमा आर्मपर्म चल्छ। आपसमा पालो पैँचो चल्छ। तर सेवा सुविधा कम छ।
सहरमा अरु सुविधा छन्। तर गाउँमा जस्तो हुँदैन।’ हामी विगतका भोगाइ, वर्तमानका कहर र भविष्यका सपनाका सिलसिलाहरू जोड्छौँ। हरिलालले दु:खका पानाहरू पल्टाउँछन्। सफलताका कुराहरू सुनाउँछ। सुन्ने र सुनाउने प्रकृया दोहोरो चल्न थाल्छ।
बुटवलमा पसल गर्ने गरी गाउँ छोडेर हरिलाल बुटवल झरेको थियो। साथमा केही लाख रकम थियो। सुरुमा जोगीकुटीमा सानो सटर भाडामा लिएर तरकारी पसल चलाए। पार्टनरशिपमा गाउँ गाउँबाट तर कसरी खरिद गरेर दैनिक टनका टन तरकारी बजारमा पुर्याउन थाल्छ। सजिलो र छिटो नाफा पनि हुन थाल्छ।
योगीकुटीको पसल हात्तीको देखाउने दाँत मात्रै थियो। मुख्य व्यापार तरकारी सप्लाई। केही साल त्यसबाट नाफा लिन्छ। त्यसले हरिलाललाई ठूलो सहयोग मिल्छ। केही रकम बैंकमा जम्मा हुन थाल्छ। हरिलालले अरु व्यवसाय गर्ने बाटोहरू खोज्दै जान्छ। जग्गाको कारोबार गर्नेहरूसँग हिमचिम बढ्न थाल्छ।
हरिलाललाई कारोबारमा सामेल गर्ने प्रस्ताव आउँछ। केही बैंक व्यालेन्स र केही ऋण लिएर सामेल हुन्छ। त्यसपछि जग्गाको कारोबारले उसको जिन्दगी कायापलट हुन्छ। हरिलालले बिहे गर्ने बेला जग्गा कारोबारमा लगानी लगाएको रहेछ। बिहेपछि उसको जिन्दगीले राम्रो लय लिएको हरिलालको ठम्याइ छ।
भाउजूको सल्लाह र सहयोगले नै सफलता मिलेको रहेछ। घर किन्दा र दुइटा बस किन्दा समेत भाउजूले भनेर नै निकालेको। एउटा बस बुटवल तम्घास र अर्को बुटवल काठमाडौँ चलाउँदै रहेछ।
हरिलालले भन्दै थिए- ‘डेढ करोड सेरोफेरो गईरहछ मेरो करोबार। मणिग्राममा निकै राम्रो ठाउँमा एउटा घडेरी छ। सस्तोमा तिम्लाई दिन्छु। तिमी पनि यतै घर बनाएर बस। म केही सहयोग गर्छु।’
मेरो त अरु नै प्लान छ हरि भनेर टारी दिन्छु। खास सिधा भन्ने हो भने ‘मेरो जागिरको तलबले तैले दिएको जग्गा किन्न सक्दिनँ हरि’ भन्नु पर्ने हो। तर कसरी भन्न सक्थेँ र त्यो। उनीहरूले भन्दो हो ‘परदेशमा नोकरी गर्छ। कमाइ राम्रो हुन्छ।’ व्यथा त भोग्नेलाई मात्रै थाहा छ नि।
एउटा एडमिनको तलब कति हुन्छ। खाएर पिएर मासिक कति हजार बचाउन सक्छ । परेकोलाई थाहा हुन्छ। देख्नेलाई त परदेशमा छ। टन्न कमाइ हुन्छ। हरिलालको प्रगति सुन्दै गर्दा आफ्नै जिन्दगी देखेर मन भारी भएर आउन थाल्छ।
आफैलाई भन्न थाल्छु- ‘तेरो दिमाग पढाइको प्रमाण पत्रलाई मात्रै रहेछ लाल सिंह। तैले वर्षैपिच्छे नयाँ किताब पढेर आखिर के गरिस्। उहीँ प्रमाणपत्रहरू जम्मा गरिस्? तँ दोस्रो श्रेणीमा एसएलसी पास। त्यत्रो साल बुटवलमा बसेर बुटवलमा के गर्न सकिँदो रहेछ बुझिनस्। मात्र बिए पासको प्रामण पत्रहरू बोकेर गाउँ फर्किस्।
एसएलसीमा तेस्रो श्रेणीमा पास गर्नेले बुटवल बजार चिनिसके। बुटवल बजारमा अड्डा जमाईसके। पढेर मात्र होइन केटा, परेर जानिन्छ। भोगेर चेतिन्छ। ढिलो भैसक्यो जे गर्ने हो बेलैमा आँटी हाल।’ हरिलालको मोबाइलमा बेला बखत घण्टी बज्थ्यो। उसले भन्थे- ‘आज हल्का बिजी छु। भोलि भेट्छु। पर्सी भेटौँ न।’
उसको जिन्दगीले फड्को मारी सकेको छ। जति दु:ख र अभाव भोग्नु थियो भोग्यो। उसले जितिसकेको छ। म हजारमै अड्किरहेको छु। उसले करोडको कारोबार गर्ने भैइसकेको रहेछ। सधैँ पुरानो किताबले निर्वाह गर्ने हरिलालको छोराछोरीहरू निजी स्कुलमा। त्यो पनि लुम्बिनी अञ्चलमै नाम कमाएको न्यू होराइजन बोर्डिङमा पढिरहेका छन्।
मेरा छोराछोरी बोर्डिङको त के कुरा, सरकारी स्कुलमा पनि पढाइमा सधैँ पछाडि पर्छन्। अरुका छोराछोरी बोर्डिङ पढ्छन् भनेको सुन्दा मेराले के सोच्दा हुन्? अरुका श्रीमतीहरू बजारमा बसेको देख्दा मेरी जमुनाले के सोच्दी हुन्।
हरिलालको बाआमाले जस्तै आरामको जिन्दगी कहिल्यै नपाउने हुन् त मेरा बा-आमाले?’ हरिलाल शौचालयमा गएको बेला एकान्तमा मन धेरै खेल्यो।
मन भित्र पहिरो गयो। मुटुमा भूकम्पका परकम्पहरू चल्न थाल्छ। मनमा जति पहिरो चले पनि। नौ रेक्टरकै भूकम्प आए पनि आखिर के नै गर्न सकिन्थ्यो र! मनलाई साम्य पार्ने कोशिस बाहेक।
‘सुन न लाल सिंह, दुबइमा घुम्न जान कस्तो हुन्छ?’
‘नेपाल जस्तो प्रकृतिक सुन्दरताले भरिएको त खासै होइन। नेपालमा प्रकृतिले नै बनाई दिएको छ। तर व्यवस्थित गर्न सकेको छैन। दुबईमा आर्टिफिसियल छन्। तर व्यवस्थित छन्।’
‘त्योभन्दा सिंगापुर, थाइल्याण्डतिर राम्रो होला हैन?’
‘पैसा हुनेलाई त जति पनि छन् नि हरि घुम्ने ठाउँहरू। तेरो सपना पूरा होस्।’
‘लाल सिंह, यो धन सम्पत्ति भन्नु आउने र जाने चिजहरू हुन्। कहिले आउँछ र कतिखेर जान्छ पत्तै हुँदैन। कुरा यो हो की आफूसँग भएको बेलामा सही ठाउँमा सदुपयोग गर्न जान्नु पर्छ। कसैको न जिन्दगीको ग्यारेन्टी छ। न धन सम्पत्तिको नै।’
‘हो! तैँले पैसालाई निकै चिन्ने भएछस् हरि। तँ बडो चलाख भैइसकेछस्।’
‘यो सब समयले सिकाएको कुरा हो लाल सिंह। गर्दै जाने हो। सिक्दै जाने हो। सिक्दा सिक्दै एकदिन जिन्दगी सकिन्छ।’
मैले उसको अनुभवहरूलाई स्वीकार्दै हो भन्दै सहमत जनाउँदै जान्छु। उसले आफ्नो भोगाइहरू बताउँदै जान्छ।
दिउँसोको साढे तीन भैसकेछ। गेटमा गाडी रोकिन आउँदा मात्र थाहा हुन्छ। उसका छोराछोरी झोलाको भारी बोकेर प्रवेश गर्छन्। ‘उहाँ अंकललाई नमस्ते गर्ने ल!’ मम्मीको अनुरोध हुन्छ। दुवै जनाले एकै स्वरमा ‘नमस्ते अंकल..!’
‘ज्ञानी छोराछोरी। थ्याङ्क यू।’
मलाई सुनेर ‘वेलकम अंकल!’ भन्दै भित्र पस्छन्। कति राम्रा छोराछोरी। आमा बाबु नै राम्रा भएपछि! एकछिनपछि केटाकेटीलाई नास्ता, हामीलाई चिया आउँछ। चिया पिएपछि दशकौं पछि हामी रोडतिर डुल्न निस्क्यौँ। साँझ मात्र फर्कियौँ घरमा। हामी आउँदा लगभग खाना तयार भैसकेको हुन्छ।
‘बा-आमाले खाना खाईसक्नु भयो गंगा?’
‘हजुर, भर्खरै खानु भयो। अब हजुरहरूको पालो।’
‘प्रिन्सिला र सम्यामले खाएको?’
‘बुवा र मुवासँगै खाएको तिनीहरूले पनि।’
‘यसो गर न। मासु पकाएकी छ्यौ नि?’
‘बनाएकी छु नि। भन्नोस् के दिउँ?’
‘एउटा रोयल स्टेग बोतल ल्याउ त। सलाद पनि बनाऊ।’
‘तयार छ नि। एकैछिन है, म गिलासहरू निकाल्छु र।’
‘ओहो! भाउजू हजुरलाई दु:ख पो भयो म आएर।’
‘के दु:ख हो बाबु। यसलाई म दु:ख मान्दिनँ। उहाँहरूको प्रायःजसो यही हो।’
हरिलाल तिर नजर लगाउँदै भाउजू बोल्नु हुन्छ। हरिलाल म तिर हेरेर आधा जिब्रो लेब्र्याउँदै थिए। केही रमाइला गफ गर्दै चिसो सियाको चुस्कीमा रमायौँ। खाना खाएर कतिखेर सुतेछु। पत्तो भएन। भुसुक्कै भएछु। बिहान म ओछ्यानमै रहेछु।
‘लाल सिंह, तिमी कतिखेर जान्छौ?’ झस्यांग हुन्छु।
‘हैट… म त अझैँसम्म सुतिरहेको रहेछु। रामपुर जाने बसमा जानु पर्ला।’
‘एकछिन सुत्न दिनु पर्ने रहेछ। यतै खाना खाएर फेरि रमाइलो गर्न हुन्थ्यो।’ हरिलाल जिस्किन्छ।
‘कहाँ सधैँ रमाइलो गर्न हुन्छ त नि? कहिलेकाहीँ पो!’
नित्य कर्मपछि सबै सित बिदा मागेर निस्कन्छु। हरिलाल बसपार्कसम्म छोड्न आउँछ। ‘जग्गा किन्ने, घडेरी किन्ने कोही छन् भने मलाई भनि राख्नु। पैसा जम्मा भएपछि किनौँला भनेर नबस। मान्छेले पैसा भएर कारोबार गर्दैन। आँट गरेर व्यवहार चलाउँछन्।’
बाटोमा हिड्दै गर्दा हरिलालले सुझाउँछ। बुटवलदेखि रामपुर जाने बसको स्टाफलाई भेटेर बस व्यवसायी संघको कार्ड देखाउँदै भन्छ- ‘मेरो भाइ हो, टिकट लिएको छैन। एउटा सिट मिलाई दिनु पर्यो।’
सहचलाकले हवस् हुन्छ भनेपछि ढुक्क भएर हरिलाल फर्किन्छ। हरिलाल आफ्नो बाटो लाग्छ। म मेरो यात्रातिर लाग्छु। सिद्धबाबाको मन्दिर नकट्दै टिकट चेक गर्न आएको थियो। ‘क्याबिनको कालो ज्याकेटवाला दाजुको भाडा नलिनु। स्टाफ हो।’ सहचालक बोल्छ। हवस् भन्छ। तर मेरो मनले मान्दैन।
लाग्ने भाडा जति हो दिन्छु। उनीहरूको पनि लगानी छ। सिद्धबाबाको भिर पहिरो आउँछ। मन बोल्छ- ‘मेरो मनमा पनि यो पहिरोभन्दा कम्ता ठूल्ठूलो पहिरो गएको छैन। मैले सम्हालेर हो।’
बस रफ्तारमा गुड्दै गर्छ। चरचरे भिरतिर गाडी गुल्दै थियो। मन अझैँ शान्त छैन। हालचल आउँछ। ‘चरचरेभन्दा अग्लो भिरबाट मेरो जिन्दगी पटक-पटक खसिसकेको छ। तर मैले हरेस खाएको छैन। र हरेस खानु हुँदैन।’
मनका भावनाहरू उथलपुथल भएर उर्लिन्छ। बाँसटारीतिर आईपुग्दा पहाडकी रानी तानसेन बजार र श्रीनगर डाँडालाई कुहिरोले ढाकेको देखियो। मौसम खुलेको बेला देखिने तानसेनको सुन्दरतालाई ढाकेर कुहिरोले डम्मै छ। अँध्यारो पारेको हुन्छ।
‘मेरो जिन्दगी पनि त्यो तानसेनको हालतभन्दा के नै फरक छ र! जिन्दगीको सुन्दर सपनाहरू चोट र पीडाहरूको चाङ्गले थिचेका छन्। ढाकेका छन्। जसको कारण मनहरू आकाश खुले झैँ कहिल्यै खुल्न पाएन। तर कठोर शिशिरले कठ्याङ्ग्रिए पनि एकदिन वसन्त बनेर जिन्दगी फक्रिने जिजीविषा भने मनमा छ।’
आशाको दियो बाल्दै यावत परिवेशहरूसँग आफ्नै जिन्दगीलाई तुलाना गर्दा गर्दै मेरो यात्रा पूरा हुन्छ। साँझ पर्दा घरमा आईपुग्छु। छोराछोरी खेल्दै छन्। बाआमा अँगेनामा आगो ताप्दै देख्छु। मेरी जमुना किट्लीमा पानी तताउँदै छिन्। सबै रमाईरहेको पाउँछु। म पुगेपछि झन् रमाउने नै भयो।
‘बाबा, हाम्रो त्रैमासिक परीक्षाको रिजल्ट आयो नि।’ छोरी प्रिन्शीले खुसी मुद्रमा बताइ। ‘बाबा.. बाबा… हाम्रो पनि आयो रिजल्ट।’ छोरो समय पनि खुसीले बोल्दैछ।
‘कुन पोजिसन आएछ? कति-कति परसेन्ट ल्याएछौ त?’ खुल्दुलीका साथ मैले सोधेको हुन्छु।
प्रिन्शी- मेरो त चौहत्तर पोइन्ट पाँच परसेन्ट। रोल नम्बर तीन।
समय- मेरो फेरि पैँसठ्ठी परसेन्ट रे। रोल नम्बर चार बाबा।
उनीहरूको रिजल्ट सुनेर म दंग पर्छु। खुसीले गदगद हुन्छु। र म उनीहरूलाई हौसला दिदै भन्छु- ‘गुड गरेका छौ। अझैँ मिहनेत गर्नु ल।’ दुवै छोराछोरीलाई गर्ल्याम्मै अङ्गालोमा बेर्छु। उनीहरू खुसीले मख्ख पर्छन्।
खाना खाएर अँगेनामा आँगो ताप्दै गर्दा हरिलालको घरमा एक रात बसेको कुरा बताउँछु। ‘उहाँहरू कान्छा बा र कान्छी आमालाई जस्तो सुख दिन सकिनँ मैले।’ बाआमासँग मनको दुखेसो पोख्छु।
बाआमा भन्नु हुन्छ- ‘हामीलाई सहरको कोलाहल र साघुँरो कोठा भित्र बस्न मन छैन बाबु। दुख्दा औषधी उपचार मिलोस्। यही गाउँ मै आनन्द छ।’ मेरै दु:ख बुझेर त्यसो भन्नु भएको त होला।
एक मनले सोच्छु, हैन साँच्ची गाउँमै आनन्द छ। कान्छी आमाले पनि त्यस्तै दुखेसो पोख्छु भाको हो। अर्को मनले सोच्छु। राति ओछ्यानमा जमुना सित सुख दु:खका कुराहरू गर्छु।
‘सहरमा बस्न तिम्लाई पनि रहर होला नि जमुना?’
‘आफ्नै गाउँ ठाउँ रमाइलो। किन जानु छ अपरिचित ठाउँमा? चाहिदा अलिकति पैसा होस्। दुखेको बेला औषधी उपचार गर्न अस्पताल होस्। सामान किन्न नजिक पसल होस्। त्योभन्दा अरू लालच छैन। बरू बाआमालाई घरिघरी अस्पताल लगि राख्नु पर्छ। त्यो समस्या हो। हैन भने गाउँमा बस्नु पर्दा कुनै गुनासो छैन। परिवारका कसैलाई केही नहोस्, यहीँ छ आनन्द।’
धन्य प्रभु! तिम्ले सद्बुद्धि दिएछौ मेरो परिवारलाई! मनैदेखि भगवानसँग नतमस्तक हुन्छु।
म छक्क पर्छु। मेरो परिवारले मेरो व्यथा बुझेर त्यसरी बोल्दैछन् या आफ्नै गाउँघरको मायाले? यदि घरका सबैलाई गाउँमै रमाइलो लाग्छ। गाउँमै खुसी मान्छन् भने सहरमा खुसी हुने कुन सपना देख्दैछु? घर भित्रको खुसी नदेखेर कुन खुसी खोज्दै रहेछु म?
मनमा प्रश्नको हुल लस्कार लागेर आउँछन्। गाउँमा बसेकालाई खुसी छैन सोचेर आफैलाई भ्रममा पाउँछु। गाउँको खुसीलाई खुसी नदेख्ने रोग हुनु पर्छ म भित्र। र, हृदयदेखि भन्न आउँछ- ‘भो चाहिँदैन मलाई सहरको रमझम र बनावटी खुसीहरू!’
खुसीले मन फुरुङ्ग भएर आउँछ। ढुक्कको सास फेर्छु। जमुनाको काखलाई सिरानी हालेर ढल्किन्छु। आनन्दको निन्द्रामा भुसुक्कै निदाएछु।
साभारः सेताेपाटी