स्मृति : पहाडजस्तै बा’ ! (पुरानो डायरीबाट)

केशु खण्डलुक मगर   २०८२-११-१७

सायद बा’ तेस्रोपटक आफ्नो छुट्टीलाई बिट मारेर फर्किदै हुनुहुन्थ्यो। उहाँले मलिन मुहारसङ्गै हात हल्लाईरहनुभएको थियो। म छातीमा खेलौना कार टाँसिंरहेको थिए। आमा मलाई आफ्नो छातीमा टाँसेर घुम्तीबाट बा’ नदेखुन्जेल हेरिरहनुभएको थियो।

अहिले लाग्छ,आमा त्यो बेला रुनुभएको थियो।

बा’ले तेस्रो छुट्टीमा कतारबाट आउँदा मलाई कार ल्याइदिनुभएको थियो। सायद गाउँमा त्यस्तो महंगो खेलौना कमैको मात्र थियो। बालापन नै सहि,म त्यो खेलौना कारमा खुशीहरुको ढुवानी गर्थें।

करिब साढे तीनवर्षको थिएँ। कलमपनि राम्रोसङ्ग समात्न सक्दिनथें। आमा मलाई कलम समाउन सिकाउनुहुथ्यो। म भने ठ्याक्कै बिपरित जस्तै थिएँ। कलमलाई चक्कु जस्तै समाउथें।बा’ र आमाबीच बोर्डिङ स्कुलमा भर्ना गर्ने सल्लाह भयो। तर त्यो बोर्डिङ स्कुल गाउँभन्दा टाढा सिलुवामा पर्थ्यो । सिलुवामा मोटरबाटो आइसकेको थियो। सिलुवाबाटै सदरमुकाम जानको लागि गाडी पाइन्थ्यो।

बा’ छुट्टी सकाएर फर्किदा आमा र कान्छाकाकासङ्ग (स्वर्गीय गोपाल खण्डलु) सिलुवा आएका थियौं। सिलुवा आइसकेपछि बा’ र आमा केहीपर गएर कुरा गर्न थाले। काका मलाई बोक्दै हुनुहुन्थ्यो। केहिसमयपछि बा’ले आफ्नो सुट्केस उठाउनुभयो। सायद बाटोपनि राम्रोसङ्ग हेर्नुभएन। हामीतिर हेर्दै हेर्दै जानुभयो। आमाले मलाई छातीमा टाँस्नुभयो। उहाँ गएको बाटोतिर अँखा झिमिक्क नगरी हेरिरहनुभयो। मभने बा’ले ल्याइदिनुभएको त्यो खेलाउन जोडले कसेर बसें।

जब बा’लाई सम्झिन खोज्छु। तब यो घट्ना नै हस्याङ्ग्फस्याङ्ग गर्दै सबैभन्दा अगाडि आइदिन्छ। अर्थात बा’सङ्ग जोडिएको यसभन्दा अगाडिका कुनै घट्ना मेरो स्मृतिमा छैनन्।

°°°°°°

बा’ पहिलोचोटि बिदेश जादा भने म आमाकै गर्भमा थिएँ। बिहे गरेको पाँचमहिनामा नै आफ्नो परिवार छोडेर जानू पक्कै सजिलो थिएन। तर उहाँले मन दाह्रो पार्नुभयो । आफ्नो आउदै गरेको सन्तान सम्झिनुभयो र परदेश जानुभयो । पहिलोपटक परदेश लाग्दा उहाँले सबैभन्दा बढी मलाई नै सम्झिनुभएको थियो । उहाँँले मनमनै आफ्नो हुनेवाला सन्तानको दुइथरीको चित्र बनाउहुन्थ्यो। मनमनै कोर्नुहुन्थ्यो फछोरा वा छोरी दुइटैको काल्पनिक तस्विर।

बा’ भारतीय अभिनेता अक्षयकुमारका डाइहार्ड फ्यान थिए। म छोरा भएर जन्मेको भए मेरो नाम अक्षयकुमार राख्न चाहनुहुन्थ्यो। अनि छोरी भएर जन्मेको भए ट्विंकल ।

यता म छोरा भएर जन्मिएँ। बा’ले कतारमा खुशी मनाउनुभयो। आफ्नो साथीहरूलाई भोज दिनसमेत बिर्सनुभएन।

आमालाई चिट्ठीमा छोराको नाम अक्षयकुमार राख्नु भनेर लेख्नुभयो। आमालाई मन परेपनि त्यो नाम हजुरामालाई फिटिक्कै मन परेन। जन्मेको समय/तिथि हेरेर मिथुन राशिबाट आउने नाम राखे “केशु” ।

°°°°°°

बा’ प्राय बिदेश बस्नुहुन्थ्यो। कहिलेकाहीँ छुट्टीमा आउँदा मात्रै भेट हुन्थ्यो। बालापनमा उहाँसङ्ग खासै घुलमिल हुन सकिनँ। म उहाँसङ्ग डराउथें। लजाउथें। बा’ घर आउने खबर पाउने बित्तिकै म छट्पटीन्थें। तर उहाँ घर आइपुगेपछि सबैभन्दा पहिले मलाई नै खोज्नुहुन्थ्यो।

बा’ कतै जाँदा मलाई साथमा लिएर हिड्न चाहनुहुन्थ्यो। म भने उहाँसङ्गै हिड्न लजाउथें। उहाँले हात समाउदै डोर्याउनुहुन्थ्यो। कतै ठेस लाग्न खोज्दा आफ्नो बुई चढाउनुहुन्थ्यो। उहाँको बुई चढ्दा आफू सगरमाथाको चुचुरोमा छु जस्तो लाग्थ्यो। बा’को काँध बाट गाउँबाट देखिने हिमालहरुपनि धेरै तल देख्थें। त्योबेला मेरा डरहरु, लाजहरुपनि टाढा टाढा भाग्थे।

लाग्थ्यो, यिनी मेरो आफ्नै बा’ हुन् ।

कहिलेकाहीँ बा’ र आमाको झगडा समेत पर्थ्यो। आमाले बा’लाई झम्टिनुहुन्थ्यो। यसरी झम्टिएर आमा आफ्नो रिस शान्त पार्नुहुन्थ्यो। तर बा’ले आमालाई कहिल्यै हात हाल्नुभएन। आफ्नो बहादुरी देखाउनुभएन। कहिल्यै रिस देखाउनुभएन। झगडामा आमाकै जीत हुन्थ्यो। तर बा’ले प्रेमले जित्नुहुन्थ्यो। उहाँको त्यो आमाप्रतिको प्रेम देखेर मनमनै मभने उहाँलाई समर्थन गर्थे।

°°°°°°°

बिस्तारै म बुझ्ने हुँदै गएँ। बा’लाई नजिकबाट चिन्न थालें। उहाँ मेरो बा’ मात्र रहेनन्। साथी पनि बन्नुभयो। म आफ्नो मनको कुरा निर्धक्क साथ भन्न सक्ने भएँ। छोरालाई खुशी देख्न आफू आशुको भुमरीमा हाम फाल्न तयार हुनुभयो।

मेरा मात्रै होइन,सबैका बा’ छानो हुन्,

जसले सन्तानलाई घामले नपोलोस भनेर आफू पोलिन्छन्।पानीले नभिजोस भनेर आफू भिज्छन्।

बा’को सानैदेखी सरकारी जागिरे बन्ने रहर थियो। तर परिस्थिति बर्षाको भेलजस्तै बनेर आए र सबै रहरहरु बगाइदिए। तैपनि मलाई सरकारी जागिरे भएको हेर्ने ठूलो चाहना थियो। उहाँले ममा आफ्नो सपना देख्नुभयो। त्यसैलाई पूरा गर्न बा’ले धेरै बर्षसम्म बिदेशमा आफ्नो पसिना बेच्नुभएको छ। अहिलेपनी बा’ खाडीमा आफ्नो पसिना बेच्दै हुनुहुन्छ। उहाँले हामीमाथि आफ्नो पसिनाको लगानी गरिसक्नुभएको छ।

तर डर लाग्छ,के हामी बा’लाई ब्याजस्वरुप खुशीहरु फर्काउन सक्छौ ?

°°°°°°°

मलाई लाग्छ, मेरा बा’ अब बूढो हुनुभएको छ। उहाँको उमेर ढल्किसकेको छ। तर उहाँको लागि म अझै एउटा सानो बालक नै छु। जो सानोमा आफ्नो बा’लाई देखेर लुक्ने गर्थ्यो।

” बाबा, हजुर अब बूढो हुनुभयो। घर आउनुस् ! अराम गर्नुस् ! जे गर्नुपर्छ, हामी गर्ने कोशिस गर्छौ ! ” म भन्छु।

“तेसो नभन बाबु, तिमिहरु केटाकेटी नै छौ। मैले सकेसम्म म गरिहाल्छु नि !” बाबा भन्नुहुन्छ ।

सोच्नुहुन्छ सायद बा’ले “सानोमा आफ्नो बा’ देखेर लुक्ने मेरो छोराले डरलाग्दो दु:खहरुको पहाडसङ्ग कसरी लड्न सक्छ ?” !!

मलाई लाग्छ,

बा’ पहाड हुन् । जो मुसाजस्तै परिस्थितिहरुले प्वाल पारेको छाती बोकेरपनि अडिग भएर उभिएको छ।

°°°°°°°°

तस्बिरः AI