सिद्धबाबा सुरुङमार्गको गृह र भौतिक मन्त्रीको निरीक्षण

बाेलीखबर   २८ चैत्र २०७९, मंगलवार ०९:५६

पाल्पा। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा खण्डमा निर्माण हुने सुरुङ्ग मार्ग क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

सोमबार साँझ स्थलगत अवलोकनमा उनीहरुसँग नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङ, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा पनि सहभागी रहेका थिए ।

सुरुङ्गमार्ग निर्माणस्थलको अवलोकनपश्चात उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब कुनै बहानामा निर्माण सुरु भएका योजना ढिलाई गर्ने अधिकार कसैलाई नभएको बताए । उनले अब ढिलाई हुनुको कारण नागरिकले बुझ्न पाउनेगरी निर्माण कम्पनीले जवाफ दिनुपर्ने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले सुरुङ्ग मार्गको निर्माणका लागि ठेक्का भइसकेको र छिट्टै निर्माणको काम सुरु हुने बताएका छन् । उनले स्थलगत निरीक्षणपश्चात अब यससँग सम्बन्धित पक्ष निर्माण कम्पनी, मन्त्रालय सम्वद्ध कर्मचारीसँग छलफल गरेर यो योजना सुरु गर्न केही अप्ठ्यारा भए तिनलाई फुकाउने छिटोभन्दा छिटो काम अगाडि बढाउने गरि सहजीकरण गर्ने जनाएका छन् ।

सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्षअघि रु ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ठेक्का सम्झौता भएको थियो । अहिले सुरुङमार्गको बेस तयारका लागि काम सुरु भइसकेको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरिरहेका छन् ।